कुसंस्कारका कारण मानवअधिकार संरक्षणमा चुनौती : आयोग अध्यक्ष मगर



काठमाडौँ, १६ असार । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान कुसंस्कारका कारण मानवअधिकार संरक्षणमा चुनौती कायम रहेको बताए।

राष्ट्रिय मानवअधिकार आयोगले आज आयोजना गरेको ‘मानवअधिकार शोध–संवाहक : पूर्वीय चिन्तन र मानवअधिकार’ विशेषाङ्कको समीक्षा कार्यक्रममा अध्यक्ष मगरले समाज परिवर्तन हुँदै गए पनि केही कुसंस्कार अझै कायम रहेकाले मानवअधिकारको पूर्ण संरक्षण गर्न कठिनाइ भइरहेको बताए।

“अझै पनि समाजमा कुसंस्कार छ। जनप्रतिनिधिले नै घरभित्र बसेर खान नपाएको अवस्थाका घटनाहरू आइरहेका छन्,” उनले भने, “यस्ता कुसंस्कारलाई समाजबाट हटाउनुपर्छ।”

जातीय विभेद क्रमशः घट्दै गएको उल्लेख गर्दै अध्यक्ष मगरले धोती फेरेर खाना खाने वा सुनपानी छर्किने जस्ता विभेदपूर्ण अभ्यास पनि विस्तारै अन्त्य हुँदै गएको बताए।

राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेलले ‘पूर्वीय चिन्तन र मानवअधिकार’ विशेषाङ्क मानवअधिकारका क्षेत्रमा अध्ययन, अनुसन्धान तथा कानुनको क्षेत्रमा काम गर्ने व्यक्तिका लागि उपयोगी हुने बताए।

विशेषाङ्कमा मानवअधिकारसँग सम्बन्धित ११ वटा लेख समावेश गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्