दमकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ घाइते
काठमाडौं, कात्तिक १२ । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् ।
दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा दुर्घटनामा गम्भीर घाइते भएका मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय भिम बहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।
बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार












