आज दिनभर मौसम प्रभावित रहने, कहाँ कस्तो छ ?



काठमाडौँ, कार्तिक १४ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ अहिले भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको रूपमा सक्रिय रहँदा नेपालमा मौसम प्रभावित बनेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा शुक्रबार साँझसम्म मौसम प्रभावित रहनेछ । यसका कारण देशका विभिन्न भागमा बादल लाग्ने, वर्षा र हिमपात हुने अवस्था बनेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा पनि साधारणदेखि पूर्ण बदलीको अवस्था रहनेछ । ती प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ । त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा मध्यम हिमपात हुने र ती प्रदेशका एक–दुई स्थानमा भारी हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । बाँकी उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा पनि हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्