सदनमा पाएको समय जनताका समस्यामा केन्द्रित हुनुपर्छ: मन्त्री गौतम
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदलाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसद स्वयं मर्यादित हुन आवश्यक रहेको बताएकी छन् ।
६८औँ संसद दिवसको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदको गरिमा कायम राख्न सांसदहरूले आफ्नो आचरण, भाषा र पोशाकमा समेत विशेष ध्यान दिनुपर्ने बताइन् ।
images
उनले भनिन्- ‘संसद जनताका प्रतिनिधि उपस्थित हुने थलो हो । यस संस्थालाई सर्वोच्च संस्थाका रूपमा कायम राख्ने दायित्व हाम्रै व्यवहारले देखाउनुपर्छ । हाम्रो आचरणमा कतै पनि कमजोरी नआओस्।’
सांसद गौतमले अघिल्लो तुलनामा संसदको स्तर खस्किएको जनचर्चाप्रति ध्यान दिँदै त्यसका कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बताइन् ।
‘पहिलाको संसद्को तुलनामा अहिलेको संसदको गुणस्तर धेरै खस्किएको छ । आखिर किन खस्किँदै गएको छ भन्ने प्रश्नमा हामी आफैँले मनन गरौँ,’ उनले थपिन् ।
मन्त्री गौतमले संसद्को समयलाई जनताका मुद्दामा केन्द्रित गर्नुपर्ने र यसका लागि सांसदहरूले आफ्नो हरेक मिनेटको सदुपयोग गर्नुपर्नेमा जोड दिइन्।
‘जनताले तिरेको करबाट राज्य सञ्चालन हुन्छ, त्यसैले संसदमा पाएको समय अर्थपूर्ण रूपमा जनताका समस्यामा केन्द्रित हुनुपर्छ,’ उनले थप भनिन् ।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार












