मोन्था चक्रवातको असर जारी : यी स्थानमा वर्षा
काठमाडौँ, कार्तिक १५ । बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको असरका कारण देशभरका विभिन्न स्थानमा वर्षा जारी छ ।
चक्रवातको प्रभावसँगै पश्चिमी वायु र अरब सागरमा विकसित भएको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहँदा काठमाडौंसहित देशभरको जनजीवन प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रहने र बाँकी प्रदेशमा आंशिक बदली रहने छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार












