आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै



काठमाडौं, कार्तिक १५ । आज हरिबोधिनी एकादशी अर्थात तुलसीको विवाह गर्ने दिन । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् ।

प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज कात्तिक १५ गते शनिवार तुलसी र दामोदरको विवाह गरी मनाइँदैछ ।

असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

हरिशयनी एकादशीका दिन अर्थात आज घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ ।

तुलसी विष्णु प्रिया भएकाले आजको दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

कात्तिक महिनाभर सबै देवी–देवता तुलसी मै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ ।

आज परेको हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठूलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठूलो एकादशी भनिएको हो ।

हिन्दू धर्ममा तुलसीलाई अत्यन्तै पवित्र र शक्तिशाली बिरुवा मानिन्छ । घरमा तुलसी रोप्दा नकारात्मक उर्जा नष्ट भई सकारात्मक उर्जा प्रवेश गर्छ भन्ने विश्वास छ । तुलसीलाई माता लक्ष्मीको प्रिय वनस्पति मानिन्छ, त्यसैले यसले घरमा शान्ति, समृद्धि र सौभाग्य ल्याउँछ ।

यसै सन्दर्भमा, प्रत्येक वर्ष कार्तिक महिनाको शुक्ल पक्षमा ‘तुलसी विवाह’ मनाइन्छ । आजको दिन भगवान् विष्णुको प्रतीक शालिग्राम र देवी तुलसीको प्रतीक तुलसी बिरुवाबीच पवित्र विवाह सम्पन्न गरिन्छ । यसलाई देवउठाउने एकादशीपछि मनाइने शुभ पर्व पनि भनिन्छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्