जेनजी आन्दोलनका बेला इञ्चार्ज रहेका प्रहरीहरुलाई उपत्यका नछाड्न हेडक्वार्टरको परिपत्र



काठमाडौं । भदौ २३ र २४ गते काठमाडौं उपत्यकामा खटिएका प्रहरीका इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न प्रहरी मुख्यालयले निर्देशन दिएको छ ।

जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको पत्रका आधारमा प्रहरी हेडक्वार्टरले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र लेखी तत्कालीन इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनेको हो ।

जाँचबुझ आयोगले बढी क्षति भएका क्षेत्रमा खटिएका इञ्चार्जहरूलाई कुनैपनि बेला उपस्थित गराउनसक्ने भन्दै हेडक्वार्टरले पत्र पठाएको हो । जाँचबुझ आयोगले आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्र पठाएको थियो ।

सोही पत्रको आधारमा हेडक्वार्टरले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र पठाएको जनाएको छ ।

जाँचबुझ आयोगले आइतबारदेखि सोधपुछ र बयान थालेको छ । आइतबार नख्खु कारागारका जेलरसँग आयोगले सोधपुछ गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा हालसम्म ७४ जनाले ज्यान गुमाइसकेका छन् भने संसद भवन, सिंहदरबार, विभिन्न सरकारी कार्यालय, भाटभटेनी सुपरस्टोरलगायतका व्यापारिक भवनदेखि राजनीतिक दलका कार्यालय र घरहरुमा समेत आगजनी गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा खरबौं मूल्य बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्