एमाले उपाध्यक्ष पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ, १५ असार । विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो।
यसअघि विशेष अदालतले पौडेललाई सोही मुद्दामा सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
अदालतको आदेशमा सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई अनुसन्धान प्रयोजनका लागि दोस्रो पटक तीन दिन म्याद थप गरिएको उल्लेख छ।
पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। आज उनलाई विशेष अदालतमा उपस्थित गराइएको छ। हाल उनी अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका छन्।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार












