डुम्रे–बेसीशहर सडक दैनिक साढे ६ घण्टा बन्द हुने
तनहुँ, कार्तिक २४ । डुम्रे–बेसीशहर सडक दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुले सूचना प्रकाशित गर्दै डुम्रे–बेसीशहर चामे सडक योजना अन्तर्गत डुम्रे वेसीशहर सडक खण्ड आगामी मंसिर ५ गतेसम्म बन्द गरिने जानकारी दिएको हो । सडक खण्ड विहान ६ः३० बजे देखि ९ बजे सम्म, विहान ११ बजे देखि दिउसो १ बजेसम्म दिउसो र दिउसो २ बजेदेखि ४ बजेसम्म सडक बन्द हुने छ ।
भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म रोडवे एक्सकाभेसन कार्य गर्नुपर्ने भएकाले सम्भावित दुर्घटना जोखिम न्यूनीकरण गर्न तथा कार्य प्रगतिमा सहजीकरणका लागि दैनिक सडक बन्द गरेर काम गरिने प्रशासनले जनाएको छ । सो समयमा उक्त सडक खण्डको चाम्बास देखि तुरतुरे सम्म सवारी आवागमन बन्द गरी निर्माण कार्य हुने जनाएको छ ।
उक्त समयावधिमा तुरतुरे–पालुंगटार–खत्रिटार हुँदै विमलनगरको रुट प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार












