सामाजिक सुरक्षा कोषमा कर्मचारीलाई अनिवार्य आवद्ध गराउन जोड
काठमाडौँ, ३ मङ्सिर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय अन्तर्गतका निकायका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ ।
बुधबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२-०८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री खरेलले उक्त निर्देशन दिनुभएको हो ।
मन्त्री खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाउन आग्रह गर्नुभयो । उहाँले पिएसबीको कन्टेन्टमा नवीनता र सिर्जनशिलता तथा प्रस्तुतिमा निखारपन आउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री खरेलले दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई अपेक्षित उपलब्धि हासिल गर्न निर्देशन दिनुभयो । उहाँले सुरक्षण मुद्रण केन्द्रले सवारी अनुमति पत्र छाप्न थालेसँगै सर्वसाधारणलाई वितरण गर्न पनि आग्रह गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले सङ्घीय सरकारका सबै मन्त्रालयलाई पेपरलेस बनाउने काम माघ महिनाभित्र सक्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
डिजिटल ट्रान्सफरमेसनका लागि पेपरलेस अनिवार्य भएको उहाँले उल्लेख गर्नुभयो । अहिले अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयलाई पेपरलेस बनाइएको छ ।
मन्त्री खरेलले सहज रुपमा आम नागरिकले पाउने सेवामा कुनै पनि ढिलासुस्ती नगर्न मन्त्रालयअन्तर्गतका निकायहरूलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो,“म पूर्ण रुपमा विश्वास गर्छु, तपाइँहरुको तर्फबाट सहयोग हुनुपर्छ । अर्को त्रैमासिक बैठकमा मन्त्रालय अन्तर्गतका निकायका उपलब्धिमूलक र सुखद होस् । आएका सुझावलाई सहजिकरण गर्न मन्त्रालयले पहल गर्नेछ ।”
सञ्चारमन्त्री खरेलले ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण कार्यक्रमलाई प्राथमिकता दिन सूचना तथा प्रशारण विभागलाई निर्देशन दिनुभयो ।
बैठकमा मन्त्रालयका सचिव राधिका अर्यालले सरकारी काम कारबाहीमा कमजोरी भएका कारण वर्तमान परिस्थितको सिर्जना भएकाले नयाँ शैली र प्रविधिमार्फत गतिशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मन्त्रालय अन्तर्गत निकायको पुँजीगत खर्च बढाउन, राजश्व आयमा वृद्धि गर्न तथा बेरुजु फर्छौट गर्न पनि निर्देशन दिनुभयो ।
प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार












