कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, अन्योलमै महाधिवेशन
काठमाडौं, मंसिर ६ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
यसअघि पटकपटक स्थगित हुँदै मंसिर ४ गतेका लागि बोलाइएको बैठक पनि स्थगित भएपछि आज फेरि बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बोलाइएको छ ।
गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सदस्यहरूबीच मतभिन्नता रहेको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन अघिनै पुसभित्र महाधिवेशन सक्नुपर्ने बताइरहेका छन् भने सभापति शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।
प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार












