इजरायलको आक्रमणबाट हिजबुल्लाहका कमाण्डरसहित ५ जनाको मृत्यु
एजेन्सी । इजरायलले आइतबार लेबनानको राजधानी बेरूतको दक्षिणी उपनगरमा गरेको हवाई आक्रमणमा परी हिजबुल्लाहका कमाण्डरसहित पाँच जनाको मृत्यु भएको छ ।
इजरायलले इरान–समर्थित हिजबुल्लाहका उच्चस्तरीय सैन्य नेता अली तबताबाईलाई हत्या गरेको पुष्टि गरेको छ । एक वर्षअगाडि अमेरिकाले मध्यस्थता युद्धविराम सम्झौता भएको थियो । तर इजरायलको यो आक्रमणले पुनः तनाव बढेको छ ।
उक्त सम्झौता पछिको ठूलो इजरायली आक्रमण मानिएको छ । इजरायली सेनाका अनुसार आक्रमण हिजबुल्लाहका कार्यवाहक चीफ अफ स्टाफ तबताबाईलाई लक्षित गरेर गरिएको थियो । हिजबुल्लाहले तबताबाईको मृत्यु पुष्टि गर्दै उनलाई ’महान जिहादी कमाण्डर’ भन्दै वक्तव्य जारी गरेको छ ।
घटनास्थल हारेत ह्रैक उपनगरमा रहेका हिजबुल्लाह अधिकारी महमूद क्वामतीले इजरायलले ‘रातो रेखा’ पार गरेको आरोप लगाएका छन् । उनले प्रतिक्रियाका विकल्पबारे हिजबुल्लाह नेतृत्वले निर्णय लिने समेत बताए ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हवाई आक्रमणमा ५ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । आक्रमणले एक बहुतले भवन ध्वस्त बनाइदिँदा सडकमा पार्क गरिएका सवारीसाधनमा पनि क्षति पुगेको बताइएको छ ।
प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार
















