एमालेको महाधिवेशन प्रतिनिधि छनौटका लागि पाँच बुँदे निर्देशन



काठमाडौँ । नेकपा (एमाले)को ११ औं महाधिवेशनको प्रतिनिधि छनौटका लागि पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ ।

सोमबार साँझ विभागको भर्चुअल बैठक मार्फत केही निर्णयहरु गर्दै पाँच बुँदे निर्देशन जारी गरिएको पार्टी स्थायी कमिटी सदस्य एवं संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्यरुपमा प्रकाशन गर्नुपर्नेछ । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।

यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ ।

यस्तै १२ गते साँझसम्म सर्वसहमतीका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरिएको छ ।

केही जिल्लाहरुमा प्रतिनिधिको उम्मेदेवारी दर्ता शुल्क अत्याधिक तोकिएको जानकारी आएकोले त्यसमा विभागले हस्तक्षेप गरेको छ । प्रतिनिधिमा उम्मेद्वारी शुल्क बढीमा १ हजार रुपैंया भन्दाबढी नलिन पनि निर्देशन गरिएको छ ।

प्रतिनिधि छनौटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरुलाई समय मै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनौट प्रक्रियामा सहजिकरण गर्न निर्देशन जारी गरेको छ ।

मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने पार्टीको ११ औं महाधिवेशनको मंसिर १३ गते देशैभरी र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनौट हुँदैछन् । एमालेको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्