भारतीय राहदानी प्रयोग गरेर ओमान जान लागेकी नेपाली महिला मुम्बईमा पक्राउ



काठमाडौँ । भारतीय राहदानी प्रयोग गरेर ओमान जान लागेकी एक नेपाली महिलालाई मुम्बईस्थित छत्रपति शिवाजी महाराज इन्टरनेशनल एयरपोर्टबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

नक्कली दस्तावेज प्रयोग गरेर विदेश जान लागेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको भारतीय अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मस्कट जाने विमानको टिकट काटेर अध्यागमन काउन्टरमा पुगेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथमा रहेका दस्तावेज नक्कली रहेको फेला परेको जनाइएको छ ।

प्रारम्भिक सोधपुछमा ती महिलाले आफ्नो नाम काजल बताएकी थिइन् । उनले आफू भारतकै हिमाचल निवासी रहेको बताउँदै भारतीय राहदानी देखाएकी थिइन् ।

उनको कुरामा विश्वास नलागेपछि थप अनुसन्धानका लागि सम्बन्धित अधिकारीसमक्ष पठाउँदा उनी नेपाली नागरिक रहेको पुष्टि भएको जनाइएको छ । पक्राउ परेकी महिलाको नाम काजल लामा रहेको र उनी नेपालको पर्सा जिल्ला निवासी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ती महिलाले वर्षौंदेखि आफ्ना आमाबुबा भारतको हिमाचलमा बस्दै आएको र सोही आधारमा हिमाचलकै एक ठेगाना उल्लेख गरी आधार कार्ड, प्यान कार्ड र प्रमाणपत्र हासिल गरेको बयान दिएकी छन् । तिनै दस्तावेजका आधारमा आफूले शिमला पासपोर्ट कार्यालयबाट भारतीय राहदानी प्राप्त गरेको उनले बताएकी छन् ।

सरकारी अधिकारीहरूलाई भ्रममा पारेको, नक्कली दस्तावेज बनाएको र अवैध यात्राको प्रयास गरेको लगायतका आरोपमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको भारतीय अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्