जेन–जी आन्दोलनका घाइतेलाई मासिक भत्ता दिइने, वर्गीकरण गरिँदै
काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई मासिक भत्ता दिनका लागि वर्गीकरण गर्ने कार्य अघि बढाएको छ ।
जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिहरूको अपाङ्गताको अवस्था र चोटको गम्भीरताका आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने उद्देश्यले मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधिलाई गृह मन्त्रालयले कार्यान्वयनमा ल्याएको हो । जसका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले घाइतेहरूको वर्गीकरणका लागि सिफारिस गर्नेछन् ।
नयाँ कार्यविधि अनुसार घाइतेहरूको अपाङ्गताका आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा एउटा प्राविधिक समिति गठन गरिएको छ जसले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चारवटा श्रेणीमा विभाजन गर्नेछ।
यसरी वर्गीकरण गरिएका मध्ये अतिगम्भीर घाइतेहरूले जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपैयाँ र गम्भीर घाइतेहरूले मासिक नौ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने मध्यम प्रकृतिका घाइतेहरूका लागि मासिक चार हजार रुपैयाँ भत्ताको व्यवस्था गरिएको छ।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार












