भारतकाे इस्ट बंगाललाई साफ महिला क्लब च्याम्पियनसिपकाे उपाधि, एपिएफ उपविजेता



काठमाडाैँ । नेपालकाे एपीएफ फुटबल क्लबलाई ३-० पराजित गर्दै भारतकाे इस्ट बंगाल एफसीले साफ महिला क्लब च्याम्पियनसिपकाे उपाधि जितेकाे छ । 

इस्ट बंगाल अपराजित रहँदै च्याम्पियन बनेकाे हाे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनलमा इस्ट बंगाललाई जित दिलाउन फजिला इकवापुटले दुई र शिल्कीदेवी हिमामले एक गाेल गरे ।

खेलकाे २२औँ मिनेटमा इकवापुटकाे गाेलमार्फत इस्ट बंगालले अग्रता लिएकाे थियाे । ३५औँ मिनेटमा हिमामले टाेलीकाे अग्रता  दाेब्बर बनाइन् ।

दोस्रो हाफकाे सुरुवातमै इकवापुटले व्यक्तिगत दोस्रो तथा टाेलीका लागि तेस्रो गाेल गरिन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलाेपटक आयाेजना गरेकाे प्रतियाेगितामा पाँच टाेलीकाे सहभागिता थियाे ।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्