वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने कागजात वडाबाटै उपलब्ध गराउने गृहकार्यमा छु: श्रममन्त्री
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृति लगायतका सबै कागजात वडा तहबाटै उपलब्ध गराउने तयारीमा रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित अनौपचारिक र स्वरोजगार श्रमिकहरुको सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो जानकारी दिएका हुन् ।
उनले वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति लगायतका कागजात लिनुपर्ने प्रक्रियामा ठगी र अन्य समस्याको सामना गर्नुपरेकोले त्यसको समाधानका लागि वडा तहमा आवश्यक कागजात उपलब्ध गराउने व्यवस्था गर्न आफूले गृहकार्य गरिरहेको स्पष्ट पारे ।
मन्त्री भण्डारीले भने- ‘यहाँ सानो काम गर्न पनि विभिन्न झमेलामा परिन्छ। त्यसैले नेपाली युवाहरु वैदेशिक रोजगारीतर्फ जान बाध्य हुन्छन् । राज्यको उपस्थिति नदेखिएको कारण उनीहरू दलालको फन्दामा पर्छन् ।’
उनले युवाहरुलाई देशभित्र श्रम गरेर केही गर्ने संकल्प गर्न आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार
















