निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न मेहनतका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ । 

‘डिशहोम सातौँ बाह्रखरी कथा लेखन प्रतियोगिता, २०८२’ का विजयी लेखकलाई पुरस्कार प्रदान गर्दै निर्वाचनमा नै वर्तमान सरकारको अर्जुनदृष्टि रहेको बताउनुभयो । उहाँले सुशासन कायम गर्न पनि सरकार अहोरात्र खटेको बताउनुभयो । 

वर्तमान सरकारमाथि चौतर्फी प्रहार भइरहेको तर  अचानोमा परेरै भए पनि मेहनतका साथ काम गरिरहेको प्रधानमन्त्री कार्कीले बताउनुभयो । 

प्रधानमन्त्री कार्कीले सबै कुरा एकैचोटी हुनुपर्ने आशा सबैतिरबाट भएको बताउँदै तर सबै कुरा एकैचोटी गर्न नसक्ने भएकाले सरकारले निरन्तर: काम गरिरहेको बताउनुभयो । राजनीतिक दल र जेन्जीको दोहोरो दबाबमा सरकार परेको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले सरकार छोडेर हिँड्ने अवस्था पनि नरहेको बताउनुभयो । उहाँले देश बङ्गलादेशजस्तो नहोस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो । दिनदिनै विदेशबाट नेपाली डिपोर्ट भइरहेको सन्दर्भ जोड्दै  उहाँले अब देशलाई नै बनाउनुको विकल्प नरहेको बताउनुभयो । 

फरक प्रसङ्गमा जेन्जी सहिदका प्रत्येक परिवारसँग फरक फरक कथा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सरकारको कथा लेख्न साहित्यकारहरूलाई अनुरोध पनि गर्नुभयो । 

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्