६ वर्षदेखि ‘कोमा’ मा रहेका श्रीलङ्काली क्रिकेटरको निधन



काठमाडाैँ । श्रीलङ्काका पूर्व यू १९ क्रिकेटर अक्षु फर्नान्डोको ६ वर्ष लामो उपचारपछि डिसेम्बर ३० मा निधन भएको छ। सन् २०१८ मा भएको रेल दुर्घटनामा परी गम्भीर घाइते भएका उनी लामो समयदेखि कोमामा रहेका थिए।

फर्नान्डो २८ डिसेम्बर २०१८ मा कोलम्बो नजिकैको माउन्ट लाभिनिया क्षेत्रमा तालिम सकेर फर्किने क्रममा रेलको ठक्करबाट घाइते भएका थिए। समुद्री किनारमा अभ्यास गरेर रेलमार्ग पार गर्ने क्रममा उनलाई गुडिरहेको रेलले ठक्कर दिएको थियो। २७ वर्षको उमेरमा भएको उक्त दुर्घटनापछि उनलाई बचाउन लाइफ सपोर्टमा राखिएको थियो।

दायाँ हाते ब्याटर अक्षुको घरेलु क्रिकेट करियर सफलताको उचाइमा पुग्नै लाग्दा यो दुखद घटना भएको थियो। दुर्घटना हुनु केही हप्ता अघि मात्र उनले रागामा क्रिकेट क्लबका लागि आफ्नो पहिलो प्रथम श्रेणी शतक प्रहार गरेका थिए। ९ वर्षको घरेलु खेल जीवनमा उनले कोल्ट्स, पानादुरा र चिलाव मारियन्स जस्ता चर्चित क्लबहरूबाट खेलेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर तथा रागामा क्लबका प्रशासक रोशन अबेसिंघेले फर्नान्डोको निधनप्रति शोक व्यक्त गर्दै उनलाई एक भद्र र प्रतिभाशाली खेलाडीका रूपमा स्मरण गरेका छन्।

उनले एक आशालाग्दो करियरलाई क्रूर दुर्घटनाले बिचैमा रोकिदिएको भन्दै अक्षुको अभाव सधैँ खड्किने बताएका छन्।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्