भेनेजुएलामा अमेरिकी हस्तक्षेप अस्वीकार्य : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै एक देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने कार्य अस्वीकार्य भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले भेनेजुएलामा भएको भनिएको अमेरिकी हस्तक्षेपलाई संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन भनेका हुन् ।
यस्तो कदमले संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्यमाथि नै गम्भीर प्रश्न उठाउने उनको टिप्पणी छ ।
उनले लेखेका छन्, ‘कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशका राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन हो। यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन।’
महासचिव पोखरेलका अनुसार भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको भनिएको घटनाले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ ।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार
















