आयोग निर्वाचनको तीव्र तयारीमा छ : कार्यवाहक आयुक्त भण्डारी



काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनको तीव्र तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)ले स्वनियमनका क्रममा जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ को प्रति ग्रहण गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने क्रममा राज्यका जिम्मेवार सबै संस्था र निकायबीचको आपसी सहयोग, सहकार्य, समन्वय हुन आवश्यक रहेको बताउनुभयो । 

निर्वाचनको वातावरण बनाउन आमसञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्दै आयोगबाट जारी हुने निर्वाचन आचारसंहिता र आफ्नो निर्वाचन आचारसंहितालाई दृष्टिगत गरी निर्वाचन सफल बनाउने राष्ट्रिय अभियानमा रासस क्रियाशील हुने विश्वास व्यक्त गर्नुभयो । 

आसन्न निर्वाचनका क्रममा आचारसंहिता जारी गरी कार्यान्वयनमा गएकामा खुसी व्यक्त गर्दै सत्य तत्थ्य, निष्पक्ष, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्दै आएको राससबाट अझ बढी भूमिका अपेक्षा गरिएको बताउनुभयो ।   

निर्वाचन आयुक्त सगुनशमशेर जबराले मुलुकका आमसञ्चार माध्यमलाई सहयोग पुग्ने गरी निर्वाचन लक्षित समाचार सामग्री सङ्कलन तथा सम्प्रेषणमा रासस केन्द्रित हुने विश्वास व्यक्त गर्दै आसन्न निर्वाचनलाई राष्ट्रिय उत्सवका रूपमा मनाउन सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो । 

उहाँले आचारसंहिता उल्लङ्घन हुन नदिन, मतदातासँग सम्बन्धित शिक्षा र सूचना सम्प्रेषण गर्न तथा सही समाचार सही समयमा दिन आमसञ्चार माध्यको ध्यानाकर्षण गर्नुभयो ।

आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन आचारसंहिता सबै सञ्चारमाध्यमले आफ्ना लागि आफैँले जारी गरेर लागू गर्ने अवस्था आएमा सहयोग पुग्ने बताउनुभयो । 

उहाँले अनुभवी जनशक्तिसहित राष्ट्रव्यापी रूपमा कार्य सञ्जाल रहेको राससको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस अघिजस्तै सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सहयोग पुग्ने समाचार सामग्री सम्प्रेषणका पक्षमा रासस केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो ।  

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्वनियमनका लागि जारी गरेको २३ बुँदे निर्वाचन आचारसंहिता आजैदेखि लागू भएको जानकारी दिनुभयो । उहाँले यसअघि सम्पन्न निर्वाचनमा जारी गरिएको आचारसंहितालाई परिमार्जन गरी ‘एआई’ र ‘सामाजिक सञ्जाल’जस्ता नयाँ विषयवस्तुलाई समेटेर आचारसंहिता जारी गरिएको स्पष्ट गर्नुभयो । 

कार्यकारी अध्यक्ष झाले सूचना र समाचार सम्प्रेषणमा नेतृत्वदायी भूमिका रहेको राससमा कार्यरत जनशक्तिलाई अनुशासनमा राख्ने उद्देश्यले यो ल्याइएको बताउँदै आयोगबाट जारी हुने आचारसंहिता पालना गर्नु राससको कर्तव्य भएको स्पष्ट गर्नुभयो ।

राससका समाचार महाशाखा उपप्रमुख एकराज पाठकले यसअघिको निर्वाचनमा जारी गरेको आचारसंहिताको सकारात्मक प्रभाव परेको जानकारी दिँदै निर्वाचन लक्षित समाचार सामग्री सम्प्रेषणका क्रममा आवश्यक व्यवस्था गरिएको बताउनुभयो ।  

सो अवसरमा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, राससका महाप्रबन्धक सन्दीप राई, समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने, प्रधान सम्पादक उत्तम सिलवाल, आलेख प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो र प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्