विशेष महाधिवेशन पक्षलाई राष्ट्रपति पौडेलको समर्थन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षलाई समर्थन देखाएको छन् ।
असोजको तेस्रो साता शीतल निवास पुगेका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई राष्ट्रपति पौडेलले विशेष महाधिवेशनको वातावरण बनाउन सुझाएका थिए । नेता कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्न कोइरालालाई राष्ट्रपति पौडेलको निर्देशनात्मक सुझाव थियो ।
कांग्रेसमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान चलाएका नेताहरू गुरुराज घिमिरे, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लगायतसँग पौडेलले छलफल गरेका थिए ।
शुक्रबार दिउँसो राष्ट्रपति पौडेलले कांग्रेसभित्रको विवादबारे छलफलका लागि महामन्त्री थापा र नेता रमेश लेखकलाई शीतलनिवास बोलाए ।
पार्टीभित्रको विवाद समाधानका लागि नेता लेखकले दुई वटा प्रस्ताव अगाडि सारेका छन् । स्रोतका अनुसार राष्ट्रपतिसँगको छलफलमा सभापति देउवासँग सहमति गरेर विशेष महाधिवेशनलाई चुनावी तयारी भेलामा रुपान्तरण गर्नुपर्ने लेखकको पहिलो प्रस्ताव थियो।
महामन्त्री थापाले विशेष महाधिवेशनको नाममा महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेको भन्दै चुनावी भेलामा रुपान्तरण गर्न नसकिने जवाफ दिएका थिए । त्यसपछि लेखकले विशेष महाधिवेशनलाई नीति वा संकल्प सम्मेलनमा परिणत गर्ने गरी सहमति खोज्न सकिने दोस्रो प्रस्ताव राखेका थिए । महामन्त्री थापाले उक्त प्रस्तावमा पनि खुलेर संवाद गर्न रुचाएका छैनन् ।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार












