साना तथा मझौला उद्योगहरुलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छाैँ : मन्त्री श्रेष्ठ
काठमाडाैँ । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले साना तथा मझौला उद्योगहरुलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
साना तथा मझौला व्यवसायी महासंघ नेपालको २२औँ वार्षिक साधारण सभालाई आइतबार सम्बोधन गर्दै श्रेष्ठले त्यस्ता उद्योगलाई प्रवर्द्धन गर्ने जिम्मेवारी बागमती सरकारको समेत रहेकाले त्यसका लागि आफूहरु लागि परिरहेको बताइन् ।
श्रेष्ठका अनुसार उद्योगी व्यवसायीहरुको व्यवसायीलाई प्रवर्द्धन गर्नका लागि वागमती सरकार अन्तर्गतका १३ वटै जिल्लाबाट उत्कृष्ट उद्यमीहरु छनोट गरेर सम्मान गर्ने गरिएको छ ।
व्यवसायीहरुका समस्या समाधान गरेर अघि बढ्न बागमती सरकार तयार रहेको समेत उनले बताइन् ।
मन्त्री श्रेष्ठले बागमती सरकारले हस्तकलालाई प्रवर्द्धन गर्न प्रत्येक वर्षको मंसिर २८ गते हस्तकला दिवस मनाउने गरी निर्णय गर्न लागेको जानकारी समेत दिइन् ।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार












