काँग्रेसको अठोट सद्भाव, सुशासन र समुन्नति हो : महामन्त्री शर्मा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसको अबको अठोट सद्भाव, सुशासन र समुन्नतिको बाटो भएको बताउनुभएको छ ।

काँग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले महाधिवेशन प्रतिनिधि अनुशासित भएकाले देशको र पार्टीको हितमा विवेकमा निर्णय गर्ने बताउनुभयो ।

महामन्त्री शर्माले महाधिवेशनले आवेगमा होइन विवेकमा निर्णय गर्ने बताउनुभयो । विशेष महाधिवेशनबाट पार्टी नफुट्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “पार्टी विभाजित गर्ने होइन अझ सशक्त बनाउने हो । हामी सिङ्गो काँग्रेस र देशको नेतृत्व गर्ने दृढता व्यक्त गर्दछौँ ।”

महामन्त्री शर्माले नेतृत्वको लोकप्रियता स्थापित गर्दा ‘ग्रेसफुल एक्जिट’ पनि अनिवार्य हुने बताउनुभयो । उहाँले हामीले आफूले गरेको कर्मको श्रेय पनि लिनुपर्ने र कमजोरी पनि सच्याउनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री शर्माले जेनजी आन्दोलनपछि बदलिएको अवस्थामा मनलाई जोड्न बदलिएर अघि बढ्न सङ्कल्प गर्नुपर्ने बताउनुभयो । अबको परिस्थितिमा काँग्रेस नवीन सन्देशका साथ अघि बढ्न र काँग्रेसले नै जेनजी आन्दोलनका क्रममा नवयुवाबाट मागिएको सुशासनलाई सम्बोधन गर्ने ल्याकत राख्ने उहाँको भनाइ थियो । 

जेनजी आन्दोलनका उपलब्धिलाई नजरअन्दाज गर्न नहुने धारणा व्यक्त गर्दै महामन्त्री शर्माले उक्त आन्दोलन गत भदौ २३ गते गुमेका जीवनका बारेमा र भदौ २४ को घटनालाई पनि गम्भीर रूपमा लिएर छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले पार्टीमा रूपान्तरणको विषय उठे पनि नेतृत्वले बेवास्ता गरेका कारण पनि आज कार्यकर्ता जागरूक भएको बताउनुभयो । सरकारमा बस्नेहरूले जनतालाई विश्वास जगाउन असफल भएको उल्लेख गर्दै उहाँले सेवाग्राहीले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन नसक्दा जेनजी आन्दोलन भएको धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्