आफ्ना नागरिकलाई अमेरिकाले भन्यो – इरान तत्काल छाड्नू



काठमाडौं । अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकलाई तुरुन्तै देश छाड्न आग्रह गरेको छ ।

अमेरिकी दूतावासले सुरक्षा चेतावनी (एडभाइजरी) जारी गर्दै इरानभर तीव्र रूपमा बढिरहेको सरकारविरोधी प्रदर्शन थप हिंसात्मक हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो ।

दूतावासका अनुसार जारी प्रदर्शनका कारण अमेरिकी नागरिक पक्राउ पर्न सक्ने, घाइते हुन सक्ने वा अन्य सुरक्षा जोखिममा पर्न सक्ने अवस्था रहेको छ। त्यसैले सम्भव भएसम्म तत्काल इरान छाड्न र सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।

एडभाइजरीमा अमेरिकी नागरिकहरूलाई आफन्त र दूतावाससँग सम्पर्क कायम राख्न वैकल्पिक सञ्चार माध्यमको व्यवस्था गर्न सुझाव दिइएको छ। साथै, यदि हवाई मार्ग प्रयोग गर्न कठिन भएमा आर्मेनिया वा टर्की हुँदै स्थलमार्गबाट इरान छाड्ने विकल्प पनि विचार गर्न भनिएको छ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘यदि इरान छाड्न सकिने अवस्था छैन भने सुरक्षित स्थानमा बस्नुहोस् । खाना, पानी, औषधि तथा अन्य आवश्यक सामग्री पर्याप्त मात्रामा भण्डारण गरेर राख्नुहोस्। प्रदर्शनहरूबाट टाढा रहनुहोस् र वरपरको अवस्थाबारे निरन्तर सचेत रहनुहोस्।’

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्