टिकटमा देउवाको हस्ताक्षर नभए चुनाव बहिष्कार गर्छु : कान्छाराम तामाङ
काठमाडौं । नेपाली कांग्रेस रामेछापका सभापति तथा पूर्वऊर्जा राज्यमन्त्री कान्छाराम तामाङले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएको टिकटमा आफू चुनाव नलड्ने घोषणा गरेका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रामेछापबाट प्रत्यक्ष निर्वाचित तामाङले नेपाली कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको उल्लेख गर्दै वैधानिक प्रक्रियाबाट आएको, सभापतिको हस्ताक्षरसहितको टिकट बाहेक कुनै पनि टिकट स्वीकार नगर्ने बताए।
तामाङले विशेष महाधिवेशनको नाममा पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने, सभापतिलाई कमजोर देखाउने र संगठनलाई क्षति पुर्याउने गतिविधि देशभरका कांग्रेस कार्यकर्ताले गर्न नहुने धारणा राखे।
उनले कांग्रेसको शक्ति आन्तरिक एकता, अनुशासन र विधिमा आधारित रहेको भन्दै नेतृत्वलाई चुनौती दिने नाममा पार्टी कमजोर बनाउने प्रयास अस्वीकार्य हुने बताए।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार
















