भक्तपुरमा छोराको चक्कु प्रहारबाट आमाको मृत्यु
काठमाडौँ, माघ ३ । भक्तपुरमा छोराले चक्कु प्रहार गरी आमाको हत्या गरेका छन् ।
मध्यपुर ठिमी नगरपालिका–३ तेर्सेटार बस्दै आएका धनुषा मिथिला नगरपालिका–११ का २४ वर्षीय प्रवीण भण्डारीले धारिलो हतियार प्रहार गरेर ५० वर्षीया आमा सरिता भण्डारीको शुक्रबार राति हत्या गरेका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार प्रवीणले आमाको टाउकोमा राति पौने ११ बजेको समयमा तरकारी काट्ने चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सरिताको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको जबेगुले बताए ।
हत्यामा संलग्न छोरा प्रवीण पनि घाइते छन् । आमालाई प्रहारपछि प्रवीण आफैंले आफ्नो टाउकोमा चक्कु प्रहार गरेका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले घटनास्थलबाट चक्कु र रोटी पकाउने तावा बरामद गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार












