रास्वपाको प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा, असार ९ गते मतदान



चितवन, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। रास्वपाको उद्गमस्थल मानिने चितवनको भरतपुरमा हुन लागेको महाधिवेशनले पार्टीलाई थप वैधानिक, संस्थागत र लोकतान्त्रिक ढङ्गले अघि बढाउने अपेक्षा गरिएको छ।

महाधिवेशनअघि शनिबार आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछाने ले महाधिवेशन पार्टीको संगठनात्मक सुदृढीकरणका लागि महत्त्वपूर्ण अवसर भएको बताए।

रास्वपाले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा ‘थिति बसाल्ने सङ्कल्प’ नारासहित चुनावी प्रतिस्पर्धा गरेको थियो। पार्टीले ‘सदाचार र असल शासन’, ‘मध्यम वर्गीय विस्तार’, ‘काम, काम, काम’, ‘कनेक्टिभिटी’ र ‘प्रवास’लाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ।

सभापति लामिछानेले २०७९ असार ७ गते काठमाडौँमा आयोजित कार्यक्रममा रास्वपाको घोषणा गरेका थिए। ‘अब जान्नेलाई छान्ने’ नारासहित स्थापना भएको पार्टीले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा २० सिट जित्दै चौथो ठूलो दलको रूपमा उदय भएको थियो।

त्यसपछि रास्वपा पहिलो पटक सरकारमा सहभागी भएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए। पछि नागरिकता सम्बन्धी मुद्दाका कारण सांसद पद गुमाए पनि चितवन–२ को उपनिर्वाचनबाट पुनः निर्वाचित भई सरकारमा फर्किएका थिए।

रास्वपाका अनुसार २०८२ को प्रतिनिधिसभा निर्वाचनमा पार्टी १८२ सिटसहित संसद्को सबैभन्दा ठूलो दल बनेको छ।

महाधिवेशनमा प्रधानमन्त्री वालेन्द्र शाह सहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ।

महाधिवेशनको कार्यतालिका

रास्वपाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार—

  • असार ६ गते राति ८:३० बजे महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन
  • असार ७ गते राति ८:३० बजेसम्म दाबी–विरोध
  • असार ७ गते राति ११ बजे अन्तिम नामावली प्रकाशन
  • असार ८ गते उम्मेदवारी मनोनयन दर्ता
  • असार ८ गते राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन
  • असार ९ गते बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान

मतदान सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मतगणना र परिणाम घोषणा गरिने तथा आवश्यक परे दोस्रो चरणको निर्वाचन कार्यतालिका पछि सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित मिति: ६ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्