निको कप महिला टी–२० क्रिकेट : उद्घाटन खेलमा कोशीको विजयी सुरुआत
जनकपुरधाम, ६ असार । जनकपुरधाममा आजदेखि सुरु भएको निको कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई २० रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घ को संयुक्त आयोजनामा जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशाला मा प्रतियोगिता सुरु भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२० रन बनायो। कोशीका काजल श्रेष्ठले ६२ बलमा अविजित ५० रनको महत्वपूर्ण पारी खेलिन्। अप्सारी बेगम र रुबिना क्षेत्रीले समान १५–१५ रन तथा प्रिन्सा राना मगरले २० रनको योगदान दिइन्।
मधेशका लागि सुस्मिता यादवले २ विकेट लिइन् भने प्रतिमा साह र मोनिका साहले समान १–१ विकेट हात पारिन्।
१२१ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले २० ओभरमा ५ विकेट गुमाएर १०० रन मात्र बनाउन सक्यो। अनुराधा चौधरीले ३४, साना प्रविनले ३२ तथा सरस्वती चौधरीले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
कोशीका लागि रिया शर्मा र टिका साहले समान २–२ विकेट लिइन् भने अलिशा केडियाले १ विकेट हात पारिन्।
उद्घाटन खेलमा अर्धशतकीय पारी खेलेकी काजल श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
प्रकाशित मिति: ६ असार २०८३, शनिबार












