पोखरामा जारी एक दिवसीय क्रिकेटमा माछापुच्छ्रेद्वारा गण्डकी २२१ रनले पराजित
पोखरा । पोखरामा जारी प्रधानमन्त्री कप (पिएम) कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेटमा माछापुच्छ्रे क्रिकेट क्लबले गण्डकी स्पोट्र्स क्लबलाई पराजित गरेको छ ।
पिएम कप राष्ट्रिय लिगको जिल्ला छनोटको रुपमा रहेको प्रतियोगितामा बुधबार माछापुच्छ्रेले गण्डकी स्पोट्र्स क्लबमाथि २२१ रनको फराकिलो जित हासिल गर्न सफल भएको हो ।
२७२ रनको विजयी लक्ष्य पाएको गण्डकीले उक्त चुनौतीको सामना गर्न सकेन । २१.१ ओभरमा ५० रन बनाउँदै गण्डकीका सबै खेलाडी अलआउट हुन पुगे पछि माछापुच्छ्रेले शानदार जित हासिल गर्न सफल भएको हो । श्रीराम प्रजापतिले ११ र विवेक अधिकारीले ९ बाहेक अन्य व्याटरले गतिलो रन बनाउन सक्नु भएन ।
माछापुच्छ्रेका लागि रितेश बरालले ५ विकेट लिँदा लक्ष्मण क्षेत्रीले २ विकेट लिनु भएको थियो भने रिदम पाण्डेले २ विकेट लिनु भएको थियो ।
त्यसअघि पोखरा क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको माछापुच्छ्रे«ले ५० ओभरमा ५ विकेट गुमाउँदै २७१ रनको योगफल तयार पार्यो ।
माछापुच्छ्रे«का लागि सुमित श्रेष्ठले शतकीय पारी सँगै १५८ बलमा कुल १३० रनको योगदान दिनुभयो । प्रमोद बास्तोलाले २४ तथा दिपक माझिले २३ रन जोड्दा गण्डकीका लागि सम्राट अधिकारी, श्रीराम प्रजापति र अनिश पोखरेलले समान १/१ विकेट लिनुभयो ।
खेलको प्लेयर अफ दि म्याच माछापुच्छ्रेका सुमित श्रेष्ठ घोषित हुनुभयो । माघ २ देखी सुरु प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् ।
यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छ्रे क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो ।
प्रकाशित मिति: ७ माघ २०८२, बुधबार
















