बालेनलाई दोस्रो केपी ओलीको संज्ञा दिँदै ईःईले भने- सार्वजनिक मञ्चमा डिबेट गरेर चिप्लिनुभन्दा स्टाटस ठोक्दै बस्नु बेस



काठमाडौं । आगमी निर्वाचनबारे प्रधानमन्त्रीको उम्मेदवार घोषित पात्रहरुको ‘पब्लिक डिबेट’ बारे चर्चा चलिरहेको छ ।

आसन्न निर्वाचनका लागि कांग्रेसबाट गगनकुमार थापा, एमालेबाट केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाह ‘बालेन’ लाई आ–आफ्नो पार्टीबाट आगामी निर्वाचनपछि प्रधानमन्त्रीको रुपमा घोषणा गरिएको छ ।

यी तीनै अनुहारलाई एउटै सार्वजनिक मञ्चमा राखेर सवाल–जवाफ गराउनुपर्ने आवाज उठिरहेको छ ।

ओलीले पब्लिक डिबेटमा आमनेसामने उभिएर यसअघि हामीले के के गर्‍यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेन्डा प्रस्तुत आफु तयाररहेको बताउका छन् भने थापाले पनि त्यसबारे सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

तर बालेनले भने ओलीलाई जेनजी आन्दोलनको हत्यारा र थापालाई त्यसको मतियार भन्दै आफू उपस्थित नहुने स्पष्ट पारेका छन् ।

यसपछि बालेनले सार्वजनिक सवालजवाफमा नजाने भन्दै ठाडै अस्वीकार गरेको बारे सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिकाटिप्पणी गर्ने क्रम चलिरहेको छ।

यसैबीच सामाजिक अभियन्ता ईःईले बालेनले कुनै भिडियो अन्तर्वार्ता नदिने, सार्वजनिक मञ्चमा डिबेट नगर्ने रणनीति अपनाएको भन्दै कटाक्ष गरेका छन् ।

उनले बालेन सार्वजनिक सवालजवाफमा बस्दा अन्य दुई भन्दा प्रस्तुती कमजोर हुने र आफू चिप्लिने डरले नमानेको आरोप लगाएका छन् ।

ईःईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘कुनै पनि भिडिओ अन्तर्वार्ता नदिने र सार्वजनिक मञ्चमा डिबेट नगर्ने भावी प्रधानमन्त्रीको चुनावी रणनीति सही हो। चिप्लिनुभन्दा स्टेज म्यानेज्ड अपिएरेन्सेज गर्नु र स्टाटस ठोक्दै बस्नु बेस। त्यतिले दम पुगेकै छ। केपीको सान्दर्भिकता समाप्त भइसक्यो, तर भविष्यका लागि अझ अजंगको अर्को केपी चाहिएन त ? जर्नलिस्टिक इन्टेग्रिटी र जिएल भएको कसैले २४ गतेको घटनाक्रम, महानगर प्रहरीको निर्ममता, निरन्तर कानुनीराजको उपहास, सामाजिक-आर्थिक नीति, गणतन्त्र-संघीयता-धर्म निरपेक्षता आदिबारे केरकार गर्‍यो भने पारा तातिएर, भोलकानो पड्केर उत्पात हुन सक्छ। त्यस्तो प्राकृतिक दुर्घटना हुन दिनु हुँदैन।’

राजनीतिमा ओलीको सान्दर्भिकता समाप्त भइसकेको दाबी गर्दै अभियन्ता ‘ईःई’ ले भविष्यका लागि अर्को केपी ओली चाहिएन त ? भन्दै प्रश्न गरेका छन् ।

साथै ईःईले सार्वजनिक मञ्चमा बहस गर्न कोठामा बसेर स्टाटस लेख्नुजस्तो सजिलो नहुने भन्दै बालेनको निर्णय सही भएको व्यंग्य गरेका छन्।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्