हर्क साम्पाङविरुद्ध उजुरी दर्ता, चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरिएको आरोप
धरान । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध उजुरी दर्ता भएको छ ।
धरान नगर बाल सञ्जालले आइतबार निर्वाचन अधिकृतको कार्यालय र धरान प्रहरीमा साम्पाङमाथि कारबाहीको मागसहित उजुरी दर्ता गराएको हो ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धामा रहेका साम्पाङमाथि चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको आरोप लगाइएको छ।
उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने कानुनी व्यवस्था स्मरण गराइएको छ ।
नगर बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा झिकाई आवश्यक छलफल, छानबिन गरी आचारसंहिता तथा कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।
उजुरी बुझ्दै प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले कारबाही प्रक्रिया अगाडि बढाइने र प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना र उमेदवारी दर्ता समेत खारेज हुनसक्ने बताए ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार
















