सांसद बेलवासेको माग: चुनावी प्रचारप्रसारमा नेपाली राष्ट्रिय झण्डा प्रयोगमा पूर्ण रोक लगाइयोस्
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोगमा पूर्ण रोक लगाउन सरकारसँग माग गरेकी छन् ।
आज राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद बेलवासेले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेकोले उक्त कदम उठाउन सरकारसँग आग्रह गरेकी हुन् ।
उनले चुनावी प्रचारका क्रममा घाँटीमा माला झैँ लगाइएका राष्ट्रिय झण्डा पछि कहाँ पुगे, कसरी राखिए र कसले स्याहारसम्भार गर्यो भन्नेबारे कुनै जानकारी नहुने अवस्था रहेको उल्लेख गरिन् ।
नेपाली राष्ट्रिय झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्दै सांसद बेलवासेले भनिन्- ‘नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न हुँदैन । यसलाई टोटल ढंगले रोक्नुपर्छ । घाँटीमा माला लगाइएका झण्डा अहिले कहाँ छन्, कसरी राखिएका छन्, कसले स्याहारसम्भार गरेको छ भन्नेबारे खोजविन गर्न सकिने अवस्था छैन । त्यसैले झण्डाको दुरुपयोग रोक्न सरकारले पूर्ण प्रतिबन्ध लगाउनुपर्छ ।’
उनले राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न आवश्यक कानुनी व्यवस्था तथा कारबाही प्रक्रिया प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा पनि जोड दिइन् ।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार
















