जापान पुगेर राष्ट्रपति पौडेलले भने- नेपाल यहाँको व्यापारिक क्षेत्रसँग घनिष्ठ साझेदारी गर्न चाहन्छ
जापान । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आव्हान गरेका छन् ।
नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गरेका हुन् ।
उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिवद्ध रहेको विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले भने- ‘हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पूँजी फिर्तिका लागि सहज प्रक्रियाहरू सहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौँ, नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्वाध सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध ।’
उनले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा दुई पक्षबीच पारस्परिक लाभका क्षेत्रमा गहन सहकार्य अघि बढाउन यो उपयुक्त क्षण पनि भएको बताए ।
राष्ट्रपति पौडेलले गौतमबुद्धको दर्शनले हामी आल्हादित भएको र नेपाल र जापानको सम्बन्ध सांस्कृतिक रूपले आदिकालदेखि रहेको उल्लेख गर्दै भने- ‘गौतम बुद्धले भनेका थिए, शान्तिको विजय त्यो हो जसमा कसैको हार हुँदैन । नेपाल र जापानबिच सद्भाव, मित्रता र सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध रहिआएको छ, आज यहाँको व्यापारिक समुदायको उत्साहजनक सहभागिता नेपाल र जापानबीच तीव्र व्यापार र लगानी सम्पर्क स्थापित गर्न फलदायी हुनेछ भन्ने मेरो विश्वास छ ।’
उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गरे ।
साथै, यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुने तथा २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्नु हाम्रो लागि अर्को महत्वपूर्ण उपलब्धी हुने उनको भनाई थियो ।
प्रकाशित मिति: १९ माघ २०८२, सोमबार
















