नेपाल भलिबल लिगको अक्सनमा १२९ खेलाडी, आइतबार खेलाडी छनोट हुने
काठमाडौँ, ६ साउन । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि हुने अक्सनमा १२९ खेलाडी सहभागी हुने भएका छन्।
आयोजकले बुधबार सार्वजनिक गरेको विवरणअनुसार अक्सनमा क्याटोगरी ‘ए’ मा ५६ जना र क्याटोगरी ‘बी’ मा ७३ जना खेलाडी समावेश हुनेछन्। अक्सन आगामी आइतबार आयोजना हुनेछ।
क्याटोगरी ‘ए’ का खेलाडीको न्यूनतम मूल्य १ लाख रुपैयाँ र अधिकतम १ लाख २० हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, क्याटोगरी ‘बी’ का खेलाडीका लागि न्यूनतम ५० हजार रुपैयाँ र अधिकतम ७० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ।
यसअघि नै प्रतियोगिताका मार्की खेलाडी र प्रशिक्षकहरूको घोषणा गरिसकिएको छ।
नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग तथा केडिया ग्रुपको आयोजनामा सञ्चालन हुन लागेको फ्रेन्चाइज पुरुष भलिबल लिगमा छ टोली सहभागी हुनेछन्।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बहुउद्देश्यीय कभर्ड हलमा भदौ १२ देखि २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार







