‘द योङ ब्रदर इटहरी’ नारदमुनि थुलुङ गोल्डकपको फाइनल प्रवेश



उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहास्थित नारदमुनि थुलुङ्ग रङ्गशालामा जारी ११औँ संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा द योङ ब्रदर इटहरी, सुनसरीले शानदार प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

द योङ ब्रदरले न्यू त्रियुगा स्पोट्र्स क्लब फत्तेपुर, सप्तरीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको पहिलो हाफको २२ औँ तथा दोस्रो हाफको ४१औँ मिनेटमा विदेशी खेलाडी जर्सी नम्बर १९ का कालुले आकर्षक गोल गर्दै टोलीलाई जित दिलाएका थिए ।

न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरीका खेलाडीहरूले खेलभरि केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा टोली प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रतियोगिताअन्तर्गत मङ्गलवार हुने दोस्रो सेमिफाइनल खेल डिफेन्डिङ च्याम्पियन साल्हेश युवा क्लब, सिराहा र विभागीय टोली एपीएफ क्लब, काठमाडौँबिच हुने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्