सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी, बाबु विदेशी



काठमाडौँ, माघ २० । जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ ।

सोमबार लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो ।

नेपाल नागरिकता ऐन, २०६३ दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ चौथो संशोधनका आधारमा बाबु विदेशी आमा नेपाली भएका गुप्तालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिए ।

‘ऐन र नियमावली संशोधनपछि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट सोमबार पहिलोपटक नागरिकता जारी गरेको छ,’ प्रमुख जिल्ला अधिकारी कँडरियाले भने, ‘योसँगै बुबाको अत्तोपत्तो नभएका, विदेशी बुवा र नेपाली आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट अङ्गीकृत नागरिकता पाउने बाटो खुलेको छ ।’

यसबाट जिल्लाका धेरै नागरिकताविहीन नेपाली सन्तानको समस्या हल हुने अपेक्षा गरिएको उनले बताए ।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्