चुनाव सरेपछि मतदाता निराश


 


डडेल्धुरा, वैशाख १२

वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भन्दै खुसी भएका डडेल्धुराका मतदाता चुनावको मिति एक महिना पछाडि सरेसगैं निराश बनेका छन् ।

सात नम्बर प्रदेशको निर्वाचन जेष्ठ ३१ गते गर्ने निर्णय गरेपछि दुई दशकपछि हुनलागेकोे निर्वाचनमा मतदान गर्न पाउने आशमा बसेका मतदाता फेरि अनिश्चित बनेको भन्दै निराश बनेका हुन् ।

कामको सिलसिलामा भारतबाट काम छोडेर घर आएका मतदाता भन झन अन्यांैलमा परेका छन् । लामो समयको पर्खाइपछि आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसर गुम्ने हो की भन्ने चिन्ताले सताएको मतदाताको भनाइ छ ।

‘‘निर्वाचनका लागि भनेर नै भारतदेखि घर आइयो तर मिती नै सरेपछि अव के गर्ने कता जाने पिरोलो भयो ।” अमरगढी नगरपालिका– ७ का दीपक ताम्राकारले गुनसो गर्नुभयो

मतदाता मात्रै नभइ यहाँका राजनीतिक दलका नेता पनि अन्यांैलमा छन् । निर्वाचनको गतिविधि तीव्र भइरहेका समयमा निर्वाचनको मिति सरेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा दलहरुको निर्वाचन गतिविधि न्यून देखिन थालिएको छ ।

चुनावको मिति सरेपछि प्रचार–प्रसारमा लाग्ने कि नलाग्ने भनेर दोधार भइरहेको वडा सदस्यका लागि उम्मेदवारको आकाङ्क्षी दत्तिसिंह भण्डारीले बताउनुभयो ।

निर्वाचनको मिति पछि सरेसंगै यहाँस्थित राजनीतिक दलले उम्मेदवार चयन गर्ने काम पनि स्थगित गरेका छन् । रासस

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्