एन्फा महिला च्याम्पियनसिप: त्रिभुवन आर्मी फाइनलमा
उदयपुर ६ फागुन । एन्फा महिला च्याम्पियनसिप–२०८२ अन्तर्गत उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशालामा बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
खेलको सुरुआती समयमै आर्मीले निर्णायक अग्रता लिएको थियो । खेलको ७औँ मिनेटमा आर्मीकी जर्सी नम्बर १५ की बिमला चौधरीले गरेको गोल नै खेलको निर्णायक बन्न पुग्यो ।
पहिलो हाफमै लिएको १–० को अग्रता आर्मीले अन्तिमसम्म जोगाउन सफल रह्यो । खेलभरि नेपाल पुलिस क्लबले बराबरी गोलका लागि दबाब सिर्जना गरे पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।
बुधवारको खेलमा आर्मीकी जर्सी नम्बर ३२ की दिपा शाही ‘म्यान अफ दि म्याच’ घोषित भइन् ।
अब बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १० टोली सहभागी रहेका थिए । हालसम्म गाईघाट फुटबल क्लब, एफसी रियल, छहारी यूथ क्लब, आरएस रिसोर्ट, न्युरोड टिम, चर्च ब्वाइज तथा नेपाल पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल सङ्घ उदयपुरको सह–आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल फागुन ९ गते हुने तय गरिएको छ ।
प्रतियोगिताका विजेताले ७ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार
















