मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि कूटनीतिक पहल गर्न प्रलोपाको माग



काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले मध्यपूर्वमा विकसित पछिल्लो युद्धको परिस्थितिबाट त्यहाँ रहेका नेपालीहरूको जीवनमा प्रत्यक्ष प्रभाव पर्न सक्ने भन्दै उनीहरूको तत्काल सुरक्षा र शान्तिपूर्ण स्वदेश फिर्तीको माग गरेको छ ।

पार्टीले मध्यपूर्वमा रहेका नेपालीहरूको वर्तमान अवस्था तत्काल सार्वजनिक गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीका अध्यक्ष सन्तोष परियारद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व भीषण युद्धको चपेटामा परेको उल्लेख गरिएको छ । वार्ता र संवाद जस्ता शान्तिपूर्ण विकल्पहरू हुँदाहुँदै युद्धका लागि तयार हुनु विश्व शान्तिका पक्षमा नभएको र जुनसुकै युद्ध पनि अन्ततः मानवता विरोधी नै हुने ठहर पार्टीले गरेको छ ।

हाल रोजगारी, शिक्षा र व्यवसायका सिलसिलामा लाखौँको सङ्ख्यामा नेपालीहरू मध्यपूर्वका विभिन्न देशमा रहेका छन् । युद्धको यस्तो संवेदनशील अवस्थामा ती नेपालीहरूको सुरक्षा गर्नु नेपाल सरकारको प्रमुख दायित्व भएको विज्ञप्तिमा स्मरण गराइएको छ ।

प्रलोपाले कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन सरकारसँग माग गरेको छ । यसका साथै, त्यहाँ रहेका नागरिकलाई शान्तिपूर्ण रूपमा नेपाल फर्कने वातावरण निर्माण गर्न तत्काल आवश्यक कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्