निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री अर्याल



बाजुरा १७ फागुन  । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाजुरामा सर्वदलीय/सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा आइतबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बैठक आयोजना गरिएको हो।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक समन्वय, सुरक्षा व्यवस्था तथा आचारसंहिता पालना सम्बन्धी विषयमा बैठकमा छलफल भएको छ। कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, प्रशासनिक अधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएकाले सबै पक्ष जिम्मेवार र संयमित भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सरकार हदै सम्मको सहजीकरण गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। साथै, निर्वाचनको वातावरण भयरहित बनाउन सुरक्षा निकायलाई आवश्यक निर्देशन समेत दिनुभयो।

बैठकमा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लामा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुहुँदै मतदानको दिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने गरी व्यवस्थापनमा आफूहरू सक्रिय रहेको बताउनुभयो। उहाँले सबै राजनीतिक दल र सरोकारवालालाई आचारसंहिता पालना गर्न आग्रह समेत गर्नुभयो ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्