प्रहरीले बोकेको बन्दुक पड्किँदा मत पेटिकामा क्षति
उदयपुर, फागुन २१ । उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका नेपाल प्रहरीको सट गनबाट अचानक बन्दुक पड्किँदा मतदान केन्द्रमा राखिएको मतपेटिकामा सामान्य क्षति पुगेको छ ।
कटारी नगरपालिका–३ स्थित केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहान करिब ७ः१० बजे उक्त घटना भएको हो । प्रहरीका अनुसार सुरक्षार्थ खटिएको जवानले बोकेको सटगनबाट अचानक बन्दुक पड्किएको थियो ।
गोली लागेर क्षति पुगेको मतपेटिका तत्काल फेरेर मतदान प्रक्रिया पुनः सुचारु गरिएको जनाइएको छ ।
घटनामा कुनै मानवीय क्षति नभएको र अन्य भौतिक क्षति नभएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार
















