दार्चुलामा रित्तो मतपेटिका बोकेर फर्किए कर्मचारी
धनगढी । दार्चुलाका दुई वटा मतदान केन्द्रमा स्थानीय मतदाताहरूले निर्वाचन पूर्ण रूपमा बहिष्कार गरेपछि कर्मचारी रित्तो मतपेटिका लिएर फर्किएका छन् ।
जिल्लाको नौगाड गाउँपालिका–१ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रमा ‘नो भोट’ भन्दै स्थानीयले मतदान बहिष्कार गरेका हुन् ।
विकास निर्माण र प्रशासनिक सुगमताको माग राख्दै मतदाताहरू मतदान प्रक्रियामा सहभागी भएनन् ।
नौगाड गाउँपालिका–१ का नागुबासीले लामो समयदेखि सडक निर्माणको माग गर्दै आएका छन् । पटक–पटक आश्वासन पाए पनि गाउँमा सडक नपुगेको भन्दै उनीहरूले यस पटक मतदान नगर्ने निर्णय गरेका थिए ।
यहाँका ६०२ जना मतदातामध्ये कसैले पनि मत खसालेनन्। यस्तै अपिहिमाल गाउँपालिका–३ का स्थानीयले वडा कार्यालय अपायक ठाउँमा भएको भन्दै विरोध जनाउँदै मतदान गरेनन् ।
उनीहरूले वडा कार्यालयलाई सबैको पायक पर्ने स्थान वडा नं ४ मा सार्नुपर्ने माग राखेका थिए । माग सुनुवाइ नभएको भन्दै झुस्कुका करिब ३४६ मतदाताले मतदान प्रक्रियामा भाग लिएनन् ।
जिल्लाभर १ सय १२ मतदान स्थल र १ सय ४३ मतदान केन्द्र (तथा दुई अस्थायी केन्द्र) निर्धारण गरिएकोमा यी दुई केन्द्र बाहेक अन्य स्थानमा भने शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको दार्चुलाका मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार
















