पूर्वपत्रकार राजवंशीले गरे ‘हेभिवेट’ नेतालाई भारी मतले पराजित
विराटनगर, फागुन २३ । मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी भारी मतले विजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री अमनलाल मोदीलाई पराजित गरे । उनी पूर्वपत्रकार पनि हुन् ।
निर्वाचन अधिकृत घनेन्द्र अधिकारीका अनुसार ३४ वर्षीय राजवंशी ४० हजार ८ सय ३३ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस महामन्त्री घिमिरेले १२ हजार ८ सय १२ मत मात्र प्राप्त गरे ।
यस्तै, यसअघि लगातार दुई पटक निर्वाचित भई जितको ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका नेकपाका उम्मेदवार तथा पूर्व मन्त्री अमनलाल मोदी १० हजार ७ सय ६२ मतमा खुम्चिएका छन् ।
सो क्षेत्रबाट नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत रहेका पूर्व प्रदेशमन्त्री जीवन घिमिरे पनि उम्मेदवार थिए । उनले ६ हजार ९ सय ३३ मत प्राप्त गरे ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार
















