गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु
गुल्मी, फागुन २६ । गुल्मीको मुसिकोटस्थित बडिगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।
स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा खोजतलास गर्ने क्रममा सोमबार मुसिकोट नगरपालिका–१ स्थित उपल्लो राक्से क्षेत्रको बडिगाड खोलाको कोप्चेरा पानीमा डुबेको अवस्थामा दीपजनको शव फेला परेको हो ।
प्रहरीका अनुसार दीपजन दर्लामी आफ्नै गाउँका छिमेकी ५६ वर्षीय डम्बर दर्लामीसँग माछा मार्नका लागि जाल बोकेर बडिगाड खोलातर्फ गएका थिए । उनी घर फर्केपछि स्थानीयवासी र प्रहरीले खोजी गरेका थिए ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार
















