तीन दिनपछि एकतर्फी खुल्‍यो दाउन्‍ने सडक



काठमाडौं, चैत्र ८ । अविरल वर्षाका कारण गत शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्ड आइतबार बिहानदेखि एकतर्फी रुपमा सवारी सञ्चालनमा आएको छ ।

लगातारको वर्षाका कारण सडक हिलाम्मे र चिप्लो भएपछि सडकखण्ड पूर्ण रूपमा ठप्प बनेको थियो । प्रहरीका अनुसार विशेषगरी दाउन्नेको मोड र घ्यू खोला क्षेत्रमा सडक बढी जोखिमपूर्ण बनेको छ ।

प्रहरी कार्यालय दुम्किवासले आइतबार बिहानदेखि पालैपालो एकतर्फी रूपमा सवारी साधन चल्न थालेको जनाएको छ । शुक्रबारदेखि रोकिएका ठूला मालवाहक सवारी साधन र बस आइतबार बिहानदेखि छुट्न थालेपछि सडकमा करिब ७ किलोमिटरसम्म लामो जाम लागेको छ ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्