उपभोक्ताको गुनासोपछि निगमले भन्यो, ‘ग्यास अभाव छैन’



काठमाडौं, चैत ९ । नेपाल आयल निगमले बजारमा ग्यास अभाव नरहेको बताएको छ । उपभोक्ताले सहज रुपमा ग्यास नपाएको गुनासो गरेपछि निगमले ग्यास अभाव नरहेको प्रष्ट पारेको हो ।

निमगका अनुसार फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात भएको छ । निगमले अहिले आधा सिलिण्डर ग्यास बिक्री नीति अवलम्बन गरेको छ । तर यथार्थमा ग्यास आयातमा कमी नआएको तथ्यांकले देखाएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार फागुनमा ५१ हजार १९२ टन ग्यास आयात भएको छ । यो पुस र माघको तुलनामा उच्च हो । पुसमा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास भित्रिएको थियो ।

खाडीको जारी तनाव र आयातमा आएको कमीका कारण उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । यही कारण नेपाल आयल निगम ले २८ फागुनदेखि आधा सिलिन्डर मात्रै वितरण गरिरहेको छ ।

गत वर्षको फागुनभन्दा यस वर्ष ३ हजार ४३८ टन बढी ग्यास आयात भएको भन्सार तथ्यांकले देखाएको छ ।

समग्रमा हेर्दा चालु आवको साउनदेखि फागुनसम्म कुल ३ लाख ७२ हजार २८२ टन ग्यास आयात भएको छ, जुन गत वर्षको सोही अवधिभन्दा १० हजार १८७ टन बढी हो।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्