कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ३४ जनाको मृत्यु
बोगोटा । कोलम्बियाको दक्षिणी अमेजन क्षेत्रमा पर्ने पुटुमायो प्रान्तमा सोमबार एउटा सैन्य विमान उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार १२१ देखि १२५ जना सवार रहेको भनिएको उक्त विमान दुर्घटनामा ७० जनाभन्दा बढी घाइते भएका छन् ।
लकहिड मार्टिनद्वारा निर्मित हर्कुलस सी–१३० मोडेलको उक्त विमान पुएर्टो लेगुइजामो विमानस्थलबाट उडेको करिब १.५ देखि २ किलोमिटरको दूरीमै जमिनमा बजारिएको थियो।
सुरुमा वायुसेनाले विमानमा ११० सैनिक र ११ चालक दलका सदस्य गरी १२१ जना रहेको बताए पनि स्थानीय अधिकारीहरूले १२५ जनासम्म सवार रहेको उल्लेख गरेका छन्।
रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार विमान खसेपछि विमानमा रहेका सैन्य गोलाबारुदहरू विस्फोट भएर आगलागी भएको थियो । जसका कारण उद्धार कार्यमा निकै चुनौती थपिएको थियो ।
पुटुमायोका गभर्नर जोन गेब्रियल मोलिनाका अनुसार अहिलेसम्म ३४ जनाको शव निकालिएको छ भने ७० जना घाइते भएका छन् । अझै २१ जना बेपत्ता रहेको आशंका गरिएको छ ।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार
















