रवि लामिछाने हुलहुज्जत गर्दै जेल तोडेर भागेको नख्खुका जेलरको बयान



काठमाडौं । नख्खु कारागारका जेलर सत्यराम जोशीले जाँचबुझ आयोगसँगको बयानमा रवि लामिछानेले भदौ २४ गते कारागार तोडेर भागेको बयान दिएका छन् ।

जनआस्था साप्ताहिकमार्फत् सबैभन्दा पहिले सार्वजनिक भएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको
प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।

‘भदौ २३ गते बेलुका करिब ७ बजेतिर बाहिर ठूलो भीड आई आगजनी गर्ने ढुंगामुढा गर्ने कार्य गर्न थालेपछि भित्रसमेत कैदी र थुनुवाहरू नाराबाजी गर्न लागे । रवि लामिछाने बाहिर जान हुने हामी किन जान नहुने भन्दै आक्रोशित हुन लागे ।जिल्ला प्रहरी कार्यालयमा समेत ठूलो समूहले आगजनी तोडफोड गर्ने कार्य गरिरहेको हुँदा थप सुरक्षाकर्मीसमेत आउन सक्ने अवस्था थिएन। रवि लामिछाने जेल तोडेर भागेपछि अन्य जेलका कैदी थुनुवाहरू समेत भाग्न थाले,’ उनले बयानमा भनेका छन् ।

रवि भागेपछि कारागारका अन्य कैदीहरू पनि नाराबाजी र हुलहुज्जत गरेर भागेका उनले उल्लेख गरेका छन् ।

‘रवि लामिछाने जेल तोडेर भागेपछि अन्य जेलका कैदी थुनुवाहरू समेत भाग्न भगाउन थालियो । ६६७ जना कैदी-थुनुवा भागेका छन्। जसमध्ये ४०९ जना पुनः आइसकेका छन्। त्यस दिन कारागारमा ४५ लाख जति क्षति भएको छ,’ उनले भनेका छन् ।

यद्यपी लामिछानेले छानबिन आयोगसमक्ष दिएको बयानमा नख्खु कारागारबाट निस्कने क्रममा कारागारबाटै औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र आएको बताएका छन् ।

‘कारागार प्रशासनले मलाई औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र दिने तयारी गरेको रहेछ, तर पत्र तयार नहुँदै भिडले मलाई कारागार बाहिर लगे ‘पछि मैले कारागारबाट पत्र आएको जानकारी पाएँ, तर त्यसमा हस्ताक्षर गर्ने वा लेखन पक्रियामा मेरो कुनै सहभागिता थिएन, त्यसैले सो पत्रको सम्बन्धमा जेल प्रशासन स्वयं जबाफदेही हुनुपर्छ भन्ने मेरो धारणा हो,’ उनले भनेका छन् ।

सहकारी ठगी मुद्दामा नौ महिनादेखि थुनामा रहेका रवि गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए ।

तर, लामिछाने जेलबाट बाहिरिएको केही दिनमा नै नख्खु कारागारले सूचना निकालेर रास्वपा सभापति लामिछानेलाई आत्मसमर्पण गर्न भनेको थियो । त्यसपछि भदौ २८ गते रवि नख्खु कारागार नै फर्किएका थिए ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्