ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले दिइन बन्दी प्रत्यक्षीकरणको निवेदन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दैै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश भएको छ ।
गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै पत्नी राधिका शाक्यले निवेदन पेश गरेकी हुन् ।
सर्वोच्चका एक सूचना अधिकारीका अनुसार बन्दीप्रत्यक्षीकरण निवेदन पेस भए पनि अध्ययनको क्रममा रहेको छ ।
आज निवेदन दर्ता भयो भने भोलि सुनुवाइ हुनेछ । एमाले निकट कानून व्यवसायीहरुले ओलीको पक्षमा वकालत गर्नेछन् ।
गत भदौ २३–२४ गते जेनजी प्रदर्शनको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्याउँदै कारबाही सिफारिस गरेको थियो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि चैत १३ गते गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
चैत १४ गते बिहान प्रहरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।
सो घटनामा जाँचबुझ आयोगले ओली र लेखकलाई १० वर्षसम्मको कैदको सिफारिस गरेको छ ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार
















